कलेजमा भौतिक उपस्थिति बिनै अध्ययन गर्न चाहनेका लागि ‘रिमोट लर्निङ’ उपयुक्त माध्यम, ‘एनआइटी’ मा कसरी हुन्छ अध्यापन ?

  • Admin
  • Jun 28, 2023

काठमाडौं : नेपालमा पछिल्लो समय दूर शिक्षा अध्ययन (रिमोट लर्निङ) प्रभावकारी बन्दै गइरहेको इन्दिरा गान्धी खुल्ला विश्वविद्यालय (इग्नु) ओभरसिज स्टडी सेन्टर – नेपाल इफर्मेसन टेक्नोलोजी (एनआइटी) कि निर्देशक अनिता कसजु श्रेष्ठ बताउँछिन् । एनआइटीले सन् २००८ देखि नेपालमा इन्दिरा गान्धी खुल्ला विश्वविद्यालयबाट सम्बधन लिएर विभिन्न शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ । 

एनआइटीले हाल ४ वटा शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको निर्देशक अनिता कसजु बताउँछिन् । एनआइटीमा हाल स्नातकोत्तर तहमा मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेसन (एमबीए) र स्नातक तहमा ब्याचलर इन कम्प्युटर एप्लिकेसन (बीसीए), ब्याचलर इन आर्ट्स (बीए) र बी.कम शैक्षिक कार्यक्रम सञ्चालनमा रहेको छ । यी शैक्षिक कार्यक्रमहरु शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट स्वीकृति प्राप्त र त्रिभूवन विश्वविद्यालय पाठ्यक्रम विकास केन्द्रद्वारा सम्बन्धन प्राप्त कार्यक्रम हुन् । 

एनआइटीले सञ्चालन गरिरहेको शैक्षिक कार्यक्रम एमबीए २ वर्षे, बीसीए ३ वर्षे, बीए ३ वर्षे र बी.कम ३ वर्षे कोर्ष रहेको छ । एनआइटीले यी कार्यक्रमहरुमा जनवरी साइकल र जुलाई साइकल गरी वर्षमा दुई पटक भर्ना लिने सक्छ । एनआइटीले सञ्चालन गरिरहेको शैक्षिक कार्यक्रम बारे एनआइटीका निर्देशक अनिता कसजु श्रेष्ठसँग गरिएको कुराकानीको सम्पादित अंशः

एनआइटीमा पठनपाठन कसरी सञ्चालन भइरहेको छ ?

इग्नु खुल्ला तथा दूर शिक्षाको अवधारणाबाट सञ्चालित विश्वविद्यालय हो । जसमा ब्लेन्डेड लर्निङको प्रणाली लागू हुन्छ । यसमा तीन वटा स्तम्भ छन् । स्वअध्ययन, काउन्सिलिङ क्लास र विश्वविद्यालयले उपलब्ध गराएको कक्षा । हामीले यसैमा रहेर अध्यापन गर्छौं । इग्नुमा भर्ना भइसकेपछि विद्यार्थीहरुले छुट्टै पाठ्यसामग्री किन्नु पर्दैन । इग्नुले नै विद्यार्थीलाई तयार गरेको पाठ्यपुस्तक र पाठ्यसामग्री प्रदान गर्दछ ।

विद्यार्थीहरुले इग्नुले दिएको पाठ्यसामग्री स्वअध्यन गरी पढ्ने गर्छन् । स्वअध्ययनका क्रममा हुने कन्फ्युजन समाधान गर्न सप्ताहन्तमा काउन्सिलिङ क्लास राख्ने गरेका छौं । साथै, विश्वविद्यालयले विभिन्न माध्यममा शैक्षिक सामग्री प्रशारण र प्रकाशन गरेको छ । जहाँबाट पनि विद्यार्थीहरुले अध्ययन गर्न सक्छन् ।

इग्नुको पाठ्यपुस्तक अन्तर्राष्ट्रिय रुपमा उत्कृष्ट देखिएको छ । पाठ्यसामग्रीले खुला र दूर शिक्षामा उत्कृष्ट पाठ्यसामग्रीको रूपमा धेरै पटक कमनवेल्थ अफ लर्निङ र युनेस्कोबाट अवार्ड पाएको छ । इग्नूले पाठ्यक्रम शिक्षकको उपस्थिति बिना स्वअध्ययनबाट बुझ्न सक्ने गरी तयार गरेको छ ।  

भौतिक उपस्थितिमा कक्षा सञ्चालन हुने गरेको छ ?

हामीले विद्यार्थीले स्वअध्ययनबाट बुझ्न नसकेको कुरालाई शनिबार वा सार्वजनिक विदाको दिन भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्छौं । जसलाई हामी काउन्सिलिङ कक्षा भन्छौं । काउन्सिलिङ कक्षा छलफल र अन्तरक्रियात्मक हुन्छ । जहाँ विद्यार्थीले नबुझेको कुरा सिक्ने अवसर पाउँछन् । हामीले विद्यार्थीहरुको आवश्यकता अनुसार यी कक्षा थप्दै लैजान्छौं । 

बीसीए कोर्समा भने हप्ताको ३ दिन बिहानी सत्रमा प्राक्टिकल हुने गर्छ । विश्वविद्यालयले बीसीएको पाठ्यक्रम प्रयोगात्मकरुपमा तयार गरेको छ । विद्यार्थीले बीसीएको प्राक्टिकल कक्षामा ७०% उपस्थिति कायम राख्नु पर्छ ।

परीक्षा कसरी हुने गर्छ ?

चारै वटा शैक्षिक कार्यक्रमहरु सेमेस्टर प्रणालीमा आधारित रहेका छन् । कक्षा दूर शिक्षाको अवधारणामा सञ्चालित भएतापनि परिक्षा भौतिक उपस्थितिमा काठमाडौंमा हुन्छ । बीए र बी.कम शैक्षिक कार्यक्रमको परीक्षा वार्षिकरुपमा हुन्छ भने एमबीए र बीसीएको परीक्षा सेमेस्टर प्रणालीमा हुन्छ ।

एमबीए, बीए र बी.कम कार्यक्रमको परीक्षामा ७०% लिखित र ३०% असाइन्मेन्ट हुन्छ भने बीसीएको ७५% लिखित र २५% प्राक्टिकल परीक्षा हुन्छ । 

भर्ना हुने प्रावधान कस्तो छ ?

एमबीए अध्ययनको लागि व्यवस्थापन वा विज्ञान विषयमा स्नातक अध्ययन गरेको हुनुपर्छ भन्ने छैन । इग्नुले मान्यता दिएको जुनकुनै विश्वविद्यालयबाट न्यूनतम ३ वर्षे स्नातक तह अध्ययन गरी ५०% वा सोभन्दा बढी प्राप्तांक ल्याएको विद्यार्थी पढ्न योग्य हुन्छन् । स्नातक तह अध्ययन गर्नेहरुको लागि दश जोड २ वा सो सरहको अध्ययन पूरा गरेको हुनुपर्छ । 

विद्यार्थीहरुको रोजाइमा कस्तो रहेको छ ?

हामीकहाँ पढ्ने विद्यार्थीहरु फ्रेसरको साथ साथै जागिरे, व्यवसायी, उद्यमीहरु तथा विभिन्न क्षेत्रमा दक्षता हासिल गरेका व्यक्तिहरु हुनुहुन्छ । पढ्न चाहना भएका तर समय निकाल्न नसक्नेहरु पनि अध्ययनका लागि आउने गर्नुहुन्छ । 

बीसीएमा सूचना प्रविधि क्षेत्रमा कार्य गरी अब्बल सीप हासिल गरेका तर शैक्षिक योग्यता हासिल नगरेका समेत आउने गरेका छन् । सप्ताहभरी कलेज जानु नपर्ने तथा आफ्नो सहजता अनुरुपको पाठ्यक्रम र समयावधि भएकाले इग्नुको कार्यक्रम धेरैले रुचाएका छन् । 

विद्यार्थी भर्ना हुन पाउने उमेरको कुनै हकबन्दी छैन । १८ वर्ष पूरा गरेका सबै व्यक्ति भर्ना भई पढ्नको लागि योग्य हुनुहुन्छ । कोही कोही विभिन्न सेवाबाट अवकाश प्राप्त गर्नुभएका व्यक्तिहरु पनि अध्ययनलाई निरन्तरता दिन आउने गर्नुभएको छ । 

इग्नु र एनआइटी किन पढ्ने ? 

विश्वविद्यालयले कोर्सलाई अध्यावधिक गर्दै लागिरहेको छ । कोर्स स्वअध्ययनबाट पढ्न सकिने र प्रयोगात्मक पनि रहेको छ । विश्वविद्यालयले भारतको युनिभर्सिटी ग्रान्ट कमिसनको नेसनल एजुकेसन काउन्सिल एन्ड एशेसमेन्टले ‘ए प्लस प्लस’ ग्रेड प्रदान गरेको छ । जुन दूर शिक्षा क्षेत्रको उच्चतम ग्रेड हो । 

हामीले एमबीएमा अन्य अधिकांश विश्वविद्यालयहरुमा नभएको अपरेसन म्यानेजमेन्ट र सर्भिस म्यानेजमेन्टको कोर्समा समेत विशिष्टीकरण गराउँदै आएको छौं । पछिल्लो समय विश्वव्यापीरुपमा सर्भिस म्यानेजमेन्ट कोर्सको आवश्यकता बढ्दै गइरहेको छ । 

हामीले विद्यार्थीहरुलाई विभिन्न किसिमका शैक्षिक क्रियाकलापमा संलग्न गराउँदै आइरहेका छौं । बीसीएमा विभिन्न अतिरिक्त कार्यक्रमहरु पनि उपलब्ध गराएका छौं । जसमा पाइथन प्रोग्रामिङ वर्कशप साथै विद्यार्थीहरुको आवश्यकता अनुसार अन्य विभिन्न वर्कशपहरुमा विद्यार्थीलाई समावेश गराइन्छ । 

एमबीए कार्यक्रम अन्तर्गत विभिन्न गेस्ट लेक्चर, रिसर्चमा आधारित कक्षाहरु उच्च ओहोदामा कार्यरत शिक्षाविदहरु द्वारा सञ्चालन गरिन्छ । विश्वविद्यालयले विद्यार्थीहरूलाई अध्ययन समयावधिको सहजता प्रदान गरेको छ । 

अधिकांश विश्वविद्यालयहरुमा कोर्षको अवधि भित्र अध्ययन सकिसक्नुपर्ने हुन्छ । दुई वर्ष अवधिको कोर्षमा कतैपनि ग्याप नगरी दुई वर्ष भित्रमा उक्त कोर्स पास गरिसक्नुपर्ने हुन्छ ।

इग्नुले विद्यार्थीहरूलाई सहजता प्रदान गर्दै एक सेमेस्टरको अध्ययन सकिएपछि लगातार अर्को सेमेस्टरमा निरन्तरता दिन नसकेमा अर्को ६ महिना पछि पुनः निरन्तरता दिन पाउँछन् । 

कलेजको फी तुलनात्मक रूपमा अन्य कलेजको भन्दा सस्तो र रिजनेवल रहेको छ । विद्यार्थीहरुलाई पर्नसक्ने आर्थिक चापलाई मध्यनजर गर्दै त्यसमा पनि सहजता प्रदान गरेको छौं । कमाउँदै पढ्दै गर्ने विद्यार्थी पनि हुनुहुन्छ । विद्यार्थीले तिर्नुपर्ने पैसा किस्तामा तिर्न सक्ने सुविधा दिएका छौं । 

इग्नु ओभरसिज स्टडी सेन्टर – नेपाल इफर्मेसन टेक्नोलोजी (एनआइटी) बाट हालसम्म हजार बढी विद्यार्थी उत्तीर्ण भइसकेका छन् । विद्यार्थीको सहजता तथा तथा आवश्यकता अनुसार एनआइटीमा सुविधासम्पन्न कक्षाकोठा, कम्प्युटर ल्याब र लाइब्रेरीको व्यवस्था छ ।